Sunday, February 12, 2012

धरान नगरपालिकाको समावेशी तथा लक्षित वर्गको कार्यक्रम विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



यही मिति २०६८ माघ ९ गते सोमवारका दिन धरान नगरपालिकाको प्राङ्गणमा दिनको १ बजे देखि "धरान नगरपालिकाको समावेशी तथा लक्षित वर्गको कार्यक्रम" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत श्री राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, इलाका प्रशासन कार्यालयका प्रमुख, भू.पू. मेयर तथा उपमेयर, उद्योग बाणिज्य संघका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज लगायत नगरवासीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण भवानी बराल र महेश श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको प्रतिवेदन तयारी तथा प्रस्तुती कार्यक्रममा मोडुरेटर गोपाल देवानले गर्नु भएको थियो । मोडुरेटरले आफ्नो प्रस्तुतीमा धरान नगरपालिकाको समावेशी तथा लक्षित वर्गको कार्यक्रम विषयमा नगरपालिकाको नीति, कार्यक्रम तथा हालको अवस्थाको बारेमा विस्तृत प्रस्तुती गर्नु भएको थियो । उक्त प्रस्तुति पश्चात् सहभागीहरूबाट उठेका विभिन्न जिज्ञासा तथा सुझावलाई टिपोट गरी लिपिबद्ध गरिनुका साथै कार्यकारी अधिकृत लगायत सम्बन्धित शाखा प्रमुखबाट स्पष्ट पारिएको थियो ।

यस सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राप्त भएका सुझाव अनुरोध तथा आग्रहहरूको आगामी नगर परिषद् तथा नगरपालिका बोर्डहरू मार्फत सम्बोधन तथा सुधार गर्दै लैजाने समेत निर्णय गर्दै उक्त कार्यक्रम बेलुका ६ बजे सम्पन्न भएको थियो ।

Friday, February 3, 2012

भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तिन दिने तालिम कार्यक्रम सम्पन्न



नगरपालिका क्षमता विकास योजना अन्तर्गत निर्माणकर्मी तथा प्राविधिकहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तिन दिने तालिम कार्यक्रम २ चरणमा सम्पन्न गरिएको छ ।

पहिलो चरणमा मिति २०६८ माघ ३ गते देखि ५ गते सम्म (३ दिने) क्यूपेक नेपालसँगको सहकार्यमा ४५ जना निर्माणकर्मी तथा प्राविधिकहरूलाई तालिम प्रदान गरिएको थियो भने दोस्रो चरणमा पुन: मिति २०६८ माघ १७ गते देखि १९ गते सम्म (३ दिने) स्थानीय भवन निर्माण व्यवसायी संघको सहकार्यमा जम्मा ५० जना निर्माणकर्मीहरू तथा प्राविधिकहरूलाई तालिम प्रदान गरिएको थियो ।

धरान नगरपालिका कार्यालय भवनमा सम्पन्न उक्त तालिम कार्यक्रमको उद्देश्य धरान नगरपालिकाले २०६४ साल देखि लागू गर्दै आइरहेको भवन संहितालाई प्रभावकारी कार्यान्वयनको लागि दक्ष निर्माणकर्मीको उत्पादन गर्नु तथा भूकम्प प्रतिरोधी भवन निर्माणको लागि प्रोत्साहन गर्नु रहेको छ ।

Wednesday, January 25, 2012

चौधौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ सम्पन्न



धरान नगरपालिकाको आयोजना क्यूपेक नेपाल, सेक नेपाल तथा स्थानीय भवन निर्माण व्यवसायी निर्माण संघको सहयोगमा चौधौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मिति २०६८/१०/०२ गते भव्यताको साथमा मनाइएको छ ।धरान नगरपालिकाको प्राङ्गणमा भूकम्प गएको वेलामा गर्नु पर्ने पूर्व अध्यास गरि शुरु भएको र्‍याली भानु चौकमा पुगेर भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी मानिसको हातेसाङ्लो निर्माण गरि भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक्यबद्धता जनाउँदै पहिलो चरणको सभा विसर्जन गरिएको थियो । दोस्रो चरणमा पुन: भानु चौकमा बेलुकी ५:३० नगरपालिकाका कर्मचारी तथा प्रतिनिधिहरू, सहयोगी संस्था प्रतिनिधिहरू, नगरवासी तथा सरोकारवालाहरू तथा पत्रकारहरू समेतको भेलाले २०४५ साल भदौ ५ गते गएको भूकम्पले धरानमा ११६ जनाको ज्यान गएको तीतो सम्झनामा ११६ वटा दिप प्रज्वलन गरी यस राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रमको समापन गरियो ।

चौधौं राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई भव्यताका साथ मनाउने सिलसिलामा धरान नगरपालिकाको आयोजना तथा स्थानीय भवन निर्माण व्यवसायी संघ धरानको सहयोगमा 2068 माघ ४ गते रेलवे चौकमा 5 गते मंगलबारे चौकमा र 6 गते गणेशमान चौकमा भूकम्प सम्बन्धी चेतना मूलक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । त्यसै गरी क्यूपेक नेपालको सहयोगमा 2068 माघ 10 गते श्याम चौक र 11 गते बरगाछी चौकमा उक्त डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । डकुमेन्ट्रीमा 2045 सालमा गएको भूकम्पले धरानमा गरेको क्षति, सन् 2005 मा पाकिस्तानमा गएको भूकम्पले गरेको क्षति, भूकम्प प्रतिरोधी भवन र सामान्य भवनको भूकम्पीय धक्काको सहन गर्न सक्ने क्षमताको जाँच गरिएको नमुनाको  प्रदर्शनीका साथै पर्यटन वर्ष 2011 का लागि नेपाल पर्यटन बोर्डबाट तयार गरिएको प्रवर्द्धनात्मक डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।

Monday, January 9, 2012

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्बन्धी सूचना

धरान नगरपालिका कार्यालय
सुनसरी

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्बन्धी सूचना


यही मिति 2068 माघ 9 गते सोमवारका दिन धरान नगरपालिकाको प्राङ्गणमा दिनको १ बजे देखि "धरान नगरपालिकाको समावेशी तथा लक्षित वर्गको कार्यक्रम" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने भएको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण नगरवासी, उपभोक्ता समितिका पदाधिकारी, गैरसरकारी तथा सामुदायिक संस्थाका प्रतिनिधि, विकास साझेदार कार्यालयका प्रतिनिधि, नागरिक मञ्चका प्रतिनिधि, बर्हिगमन अभिमत फाराम भर्ने प्रतिनिधिहरू लगायत सरोकारवाला सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

सूचना शाखा

Tuesday, January 3, 2012

भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न



मिति २०६८ पौष १३ गते  बुधवार धरानमा घर बनाउँदै गरेका ३५ जना घरधनीहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । नगरको भौगोलिक अवस्था, भूकम्प प्रतिरोधी घरको कसरी बनाउन सकिन्छ,  नगरपालिका क्षेत्रमा भवन निर्माण गर्दा पुरा गर्नु पर्ने धरान नगरपालिकाका प्रकृयाहरू लगायत राष्ट्रिय भवन संहिता २०६० (National Building Code) को बारेमा जानकारी तथा छलफल गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।

नगरपालिका कार्यालय परिसरमा रहेको नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले स्वागत मन्तव्य साथ कार्यक्रमको विषयमा जानकारी दिनु भएको थियो भने इन्जिनियर राजु पोखरेल तथा घरनक्सा शाखाको खरिदार हरिबहादुर कार्कीद्वारा कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

२०४५ साल भाद्र ५ गते बिहान ५ बजे गएको विनाशकारी भूकम्पले धरानमा ११६ जनाको ज्यान लिनुको साथै ठूलो धनराशिको क्षति भएको साथै धरान नगर भूकम्पीय दृष्टिले जोखिम भौगोलिक क्षेत्रमा रहेकोले गर्दा नगर क्षेत्रमा बन्ने भवन तथा संरचनाहरू नियमानुसार भूकम्प प्रतिरोधी बनुन् भन्ने उद्देश्य राखी २०६४ साल भदौ ५ गते देखि राष्ट्रिय भवन संहिता २०६० लागू गरिएको छ । उक्त संहिताको बारेमा प्रचार प्रसार तथा अभिमुखीकरण गराउने उद्देश्यले विगतमा धरान नगरपालिकाको जनचेतना मूलक अभियान अन्तर्गत निर्माणकर्मी, ठेकेदार, घरधनी, स्थानीयवासी / नगरवासी तथा निर्माण व्यवसायीहरूलाई भवन निर्माण संहिता तथा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी विभिन्न कार्यशाला गोष्ठी, अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरिसकेको छ ।

Thursday, December 8, 2011

वडा भेला हुने बारे सूचना

धरान नगरपालिकाको आर्थिक बर्ष 2069/2070 (2069 श्रावण - 2070 असार मसान्त) को नीति, बजेट तथा कार्यक्रम तयारीको क्रममा तपसिलमा उल्लेख भए अनुसारको मिति, समय र स्थानमा वडा भेला कार्यक्रम संचालन गरिने भएकोले उक्त भेलामा उपस्थितिका लागि बडाबासीहरूमा अनुरोध छ ।