Tuesday, January 3, 2012

भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न



मिति २०६८ पौष १३ गते  बुधवार धरानमा घर बनाउँदै गरेका ३५ जना घरधनीहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । नगरको भौगोलिक अवस्था, भूकम्प प्रतिरोधी घरको कसरी बनाउन सकिन्छ,  नगरपालिका क्षेत्रमा भवन निर्माण गर्दा पुरा गर्नु पर्ने धरान नगरपालिकाका प्रकृयाहरू लगायत राष्ट्रिय भवन संहिता २०६० (National Building Code) को बारेमा जानकारी तथा छलफल गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।

नगरपालिका कार्यालय परिसरमा रहेको नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले स्वागत मन्तव्य साथ कार्यक्रमको विषयमा जानकारी दिनु भएको थियो भने इन्जिनियर राजु पोखरेल तथा घरनक्सा शाखाको खरिदार हरिबहादुर कार्कीद्वारा कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

२०४५ साल भाद्र ५ गते बिहान ५ बजे गएको विनाशकारी भूकम्पले धरानमा ११६ जनाको ज्यान लिनुको साथै ठूलो धनराशिको क्षति भएको साथै धरान नगर भूकम्पीय दृष्टिले जोखिम भौगोलिक क्षेत्रमा रहेकोले गर्दा नगर क्षेत्रमा बन्ने भवन तथा संरचनाहरू नियमानुसार भूकम्प प्रतिरोधी बनुन् भन्ने उद्देश्य राखी २०६४ साल भदौ ५ गते देखि राष्ट्रिय भवन संहिता २०६० लागू गरिएको छ । उक्त संहिताको बारेमा प्रचार प्रसार तथा अभिमुखीकरण गराउने उद्देश्यले विगतमा धरान नगरपालिकाको जनचेतना मूलक अभियान अन्तर्गत निर्माणकर्मी, ठेकेदार, घरधनी, स्थानीयवासी / नगरवासी तथा निर्माण व्यवसायीहरूलाई भवन निर्माण संहिता तथा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी विभिन्न कार्यशाला गोष्ठी, अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरिसकेको छ ।

1 comment: