Sunday, June 9, 2013

हरित आवास परियोजना (Green Homes Project) अभिमुखीकरण कार्यक्रम सम्पन्न


यही 2070 जेठ 26 गते आइतवारका दिन UN-Habitat द्वारा “हरित आवास परियोजना (Green Homes Project) सञ्चालन गर्नका लागि धरान नगरपालिका छनौट भएको र उक्त परियोजनाको उद्देश्य र भावी कार्यक्रमहरूको बारेमा जानकारी गराउन तथा यस परियोजना सँग सम्बन्धित विभिन्न सरोकारवालाहरूलाई दिगो आवासको अवधारणाको प्रवर्द्धन गर्ने उद्देश्यले आधा दिने अभिमुखीकरण कार्यक्रम उद्योग वाणिज्य संघ सुनसरीको धरान 1 स्थित सभाहलमा सम्पन्न भएको छ ।  

आवास क्षेत्रले कुनै पनि शहरको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको हुन्छ । नेपालको कुल शहरी रोजगारमा १८% हिस्सा निर्माण क्षेत्रले ओगटेको देखिन्छ । हालै गरिएको अध्ययनबाट नेपालमा अबको दशकको शहरी जनसंख्याको आवासीय आवश्यकता परिपूर्ति गर्न थप दश लाख घरहरूको आवश्यकता पर्ने देखिएको छ । यस आवश्यकता पूरा गर्नका लागि परम्परागत निर्माण प्रविधि तथा सामाग्रीहरूको प्रयोग गर्ने हो भने त्यसले वातावरण प्रदूषण गर्ने तथा मौसम परिवर्तनका तत्वहरुलाई बढवा दिने निश्चित प्राय छ । नेपाली शहरहरुले पानीको अपर्याप्तता, फोहोर व्यवस्थापन, ऊर्जा सङ्कट तथा वातावरण प्रदूषणको चुनौतीहरू व्यहोरी राख्नु परेको तीतो यथार्थ हामी माझ छ । यसो हुनुमा शहर भित्रका भवनहरू र त्यस भवनमा बस्ने मानिसहरूको क्रियाकलाप मुख्य जिम्मेवार देखिन्छ । तसर्थ, दिगो तथा वातावरण मैत्री निर्माण सामाग्रीहरूको प्रयोग, घरभित्र पानीको संरक्षण, घरेलु फोहोर व्यवस्थापन, घरभित्र निष्कृय सौर्य ऊर्जाको प्रयोग तथा घरभित्रको वायुको गुणस्तर वृद्धि गर्न दिगो आवासीय प्रविधि तथा सेवाहरूको प्रवर्द्धन गरी हरित रोजगारीको वातावरण उत्पन्न गराई हरित अर्थतन्त्रतर्फ अग्रसर हुँदै शहरी गरिबी न्यूनिकरणमा ठोस योगदान  पुर्‍याउने उद्देश्यले UN-Habitat  द्वारा “हरित आवास परियोजना (Green Homes Project) सञ्चालनमा आएको छ ।

No comments:

Post a Comment