Wednesday, September 1, 2010

ओलम्पिक डे भव्यताका साथ सम्पन्न

2067.03.10



धरान/ओलम्पिक डे(जुन २३) को अवसरमा बुधबार धरानमा भव्यरुपमा ओलम्पिक उत्सव एवं सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न भएको छ। धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आयोजित उत्सवको उद्‍घाटन उपराष्ट्रपति परमानन्द झाले गर्नुभएको थियो।

त्यसअघि विजयपुर डाँडामा अवस्थित प्रसिद्ध बूढासुब्बा मन्दिरमा उपराष्ट्रपति झाले नेपालका पहिलो ओलम्पियन भुपेन्द्र सिलवाललाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि विभिन्न ओलम्पियनहरुले सो टर्च बोकेर नगरको परिक्रमा पश्चात् रंगशालामा पुर्याइएको थियो।

असार २ गतेदेखि जारी सप्ताहव्यापी खेलकुद कार्यक्रमको समापनसँगै ओलम्पिक उत्सव मनाउने क्रममा बुधबार विशाल र्‍याली समेत निकालिएको थियो। विभिन्न विद्यालयका विद्यार्थी, खेलाडीहरू एवं संघसंस्थाहरू सहभागी र्‍यालीले नगरको परिक्रमा गदै रंगशाला पुगेको थियो। उत्सवमा नेपालको प्रतिनिधित्व गदै सन् १९६४ मा टोक्यो ओलम्पिकमा एथलेटिक्सबाट सहभागी प्रथम ओलम्पियन भुपेन्द्र सिलवालसँगै प्रविन तुलाधर, लक्ष्मण कुमार बस्नेत, मेनका रावल, डम्बर कुँवर र चन्द्रकला थापालाई सम्मान गरिएको थियो। यसैगरि, धरानका ओलम्पियन नरेन्द्र पोमो, साफमा टेवलटेनिसमा पदक विजेता गीता थापा, फुटबलकी तुलसा सिंह, सुटिङका टिकाराम श्रेष्ठ र शारीरिक सुगठनका राजभगत प्रधानांगलाई बिशेष सम्मान गरिएको थियो। यसैगरि, ओलम्पिक डेको अवसरमा असार २ गतेदेखि आयोजित विभिन्न खेल प्रतियोगिताका विजयी टिम एवं खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

यसैगरि, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले १३ औं दक्षिण एसियाली खेलकुदको इन्डोर खेलहरू धरानमा आयोजना गराउने बताउँदै अन्तर्राष्ट्रियस्तरको कर्वड हल निर्माण गरिदिने घोषणा गर्नुभयो। उत्सवमा उसु, तेक्वान्दो, कराँते, बक्सिङ लगायत खेलको प्रदर्शनी गरिएको थियो।

नेपाल ओलम्पिक कमिटीले प्रत्येक वर्ष खेलकुदको पूर्वाधारयुक्त सहरमा ओलम्पिक डे आयोजना गर्ने निर्णय गरे बमोजिम यस वर्ष ओलम्पिक डे धरानमा आयोजना गरिएको हो। ओलम्पिक डेको अवसरमा असार २ गतेदेखि धरानमा सप्ताहव्यापी खेलकुद कार्यक्रमहरू आयोजना गरिएको थियो।

अधिक जानकारीका लागि http://dharan.gov.np/olympic_day/index.asp

No comments:

Post a Comment