Thursday, February 3, 2011

धरान नगरपालिका स्वर्ण महोत्सव भव्यताका साथ सम्पन्न *

स्वर्ण महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ


धरान नगरपालिका घोषणा भएको 50 वर्ष पुगेको अवसरमा यही मिति 2067 माघ 14 देखि 17 गते सम्म धरान नगरपालिका स्वर्ण महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

स्वर्ण महोत्सवको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्नु भएको थियो भने कार्यक्रममा धरानलाई योगदान पुर्याउनु हुने एक सयभन्दा बढी व्यक्तिलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । मन्तव्यको क्रममा सभामुख नेम्वाङले धरानको प्राकृतिक सौन्दर्य र धरानवासीहरूले धरानको विकासमा पुर्‍याएको योगदान बारे चर्चा गर्नु भएको थियो ।


महोत्सव उद्घाटन अघि विभिन्न जातीय तथा सामाजिक एवं पेशागत संघसंस्थाहरु, निजी तथा सामुदायिक विद्यालयहरू, सरकारी तथा गैरसरकारी कार्यालयहरू र नगरवासीहरू सहभागी रहेको सांस्कृतिक झाँकी सहितको बृहत् र्‍याली धरान - १२ को पब्लिक उच्च माविबाट सुरु भई चतरा लाइन, माणिक पथ, सैनिक चौक, किराँत चौक, धनकुटे रोड, ट्राफिक चोक हुँदै भानुचोक कार्यक्रम स्थलमा आइ पुगेर सभामा परिणत भएको थियो । उक्त र्‍यालीको नेतृत्व धरान नगरपालिका स्वर्ण  महोत्सव कार्यक्रमका स‌योजक एवं कार्यकारी अधिकृत श्री टिकादत्त राईले गर्नु भएको थियो भने उक्त र्‍यालीको नेतृत्व समूहमा पूर्व मन्त्री, पूर्व नगर प्रमुख लगायत नगरपालिका सञ्चालन दलिय स‌यन्त्रका प्रतिनिधिहरू रहनु भएको थियो । महोत्सव उद्घाटनको अवसरमा यहाँका विभिन्न जातीय सांस्कृतिक नृत्य तथा झाँकीहरू देख्न सकिन्थ्यो भने कार्यक्रम सफल पार्न नगरवासीहरूको अपार सहभागिता रहेको थियो ।

यसैबीच, सभामुख नेम्वाङले भानुचौक स्थित घण्टाघरमा केन्द्रमा अवस्थित धरान पर्यटन सूचना केन्द्रको उद्घाटन र धरान नगरपालिकाभित्र निर्माण गर्न लागिएको स्वर्ण महोत्सव स्तम्भ पनि शिलान्यास गर्नु भएको थियो ।


भ्यु प्वाइन्टको उद्घाटन
भ्यु प्वाइन्टको उद्घाटन पश्चात मन्तब्य राख्दै सभासद् किरणकुमार राई

धरान नगरपालिका स्वर्ण महोत्सवमा पर्यटन उपसमितिबाट तिन कार्यक्रम सम्पन्न भयो । माघ १४ विहान धरान–१४ विजयपुर चौकबाट दन्तकाली मन्दिर जाने बाटोमा स्थित शिवालयको परिसरलाई भ्यु प्वाइन्टको रूपमा सभासद् किरणकुमार राईले उद्घाटन गर्नु भएको थियो ।

स्वर्ण महोत्सवको अवसरमा धरानमा पर्यटकीय भौतिक पूर्वाधार विकाश गर्न केही स्थानमा भ्यु प्वाइन्ट बनाउने निर्णय भएपनि बजेट र समय अभावले तत्काल एउटामात्र बनाइएको हो । यसको प्राथमिक पूर्वाधार निमार्णमा नगरपालिकाको करिब २ लाख र योगसाधक समूहको ५० हजार रुपया खर्च भएको छ ।

पूर्वमा धार्मिक पर्यटनको मुख्य गन्तव्य विजयपुर हो । भ्यु प्वाईन्ट निर्माणले यहाँ आगामी दिनमा थप पर्यटकीय पूर्वाधारका योजनाहरू अघि बढाउन ध्यानाकर्षण गराएको छ ।


पर्यटक ब्रोसर सार्वजनिक
माननीय सभामुख सुवासचन्द्र नेम्वाङ पर्यटक ब्रोसर सार्वजनिकीकरण गर्दै

 मूल समारोह उद्घाटन अघि संविधानसभाका माननीय सभामुख सुवासचन्द्र नेम्वाङले धरान घण्टाघरमा पर्यटन सूचना केन्द्रको उद्घाटनसँगै धरानको पहिलो रँगिन कलेबरको पर्यटक ब्रोसर ‘धरान नगरपालिका दर्पण’ सार्वजनिक गर्नु भएको थियो ।

धरान नगरपालिकाद्वारा प्रकाशित यो ब्रोसर ३ फोल्डिङमा १६ पृष्ठको छ । यसमा धरान नगर क्षेत्रका ३६ र आसपासका १५ स्थानको तस्विरका साथै संक्षिप्त जानकारी छ । ती स्थानहरु कहाँ कहाँ छन् भन्ने स्पष्ट जानकारी दिन धरान नगरको सडक, चोकको नाम खुलाएर नम्बरमा अंकित गरिएको नक्सा ब्रोसरको मध्यभागमा राखिएको छ ।

अहिले सम्म धरान नगरक्षेत्रको विस्तृत पर्यटकीय स्थलहरुका साथै सम्पूर्ण जानकारी दिने यस किसिमको सामाग्री थिएन । धरानमा आउने पर्यटकहरू कसमे कम ३ दिन बसेर मात्र यहाँको र आसपासका पर्यटकीय स्थल अवलोकन गर्न सकिन्छ भन्ने उदेश्यले यो ब्रोसर तयार गरिएको हो ।


प्याराग्लाईडिङ उडान उद्घाटन

स्वर्ण महोत्सव समापनका दिन माघ १७ गते धरान बजारको आकाशमा उडिरहेको प्याराग्लाईडीङ र उनीहरूले गरिरहेको पुष्पवृष्टिले धरानको इतिहासमा नयाँ पाना थपेको छ । पूर्वाञ्चलमा पहिलो पटक सफलता पूर्वक प्याराग्लाइडिङ उडान भएको खबर देशव्यापी चर्चाको विषय बन्यो । यसबाट पर्यटन विकाशको सम्भावना तर्फ धरानले नयाँ छलाङ लगाएको रुपमा लिईएको छ ।

यसअघि माघ १६ गते पाचकन्या गाबिस–८ देबीथान गाउँ स्थित स्कूलडाँडामा आयोजित एक समारोहमा पर्यटन बोर्डका सदस्य तथा कोशी–मेची पर्यटन संयोजक रामेश्वर थापाले प्याराग्लाडिङ उडानको उद्घाटन गर्नु भएको थियो ।

नेपाल एयरस्पोर्टस एशोसिएसनका प्याराग्लाईडिङ पाईलटहरु प्रकाश गुरुङ, लक्ष्मण कुंवर, सन्तोष थापा, अमित थापा, सुरेश थापा, सुशिल गुरुङ, सुवास थापा, रविन्द्र थापा, माधव दहाल, तारामणि राई र जापानी नागरिक काजु तानीले पालैपालो उडान भरेका थिए ।

उडान हुने खबर सुनेपछि सयकडौँ गाउँलेहरू स्कूलडाँडामा भेला भएका थिए । यसैगरी धरान स्थित विजयपुरको फेदी स्थित खत्री बंमधारामा बनाईएको अवतरणस्थलमा उत्तिकै मानिसहरू भेला भएका थिए । दुवैदिनको उडान सफलतापूर्वक सम्पन्न भएकोले धरानमा प्याराग्लाईडिङ अन्य ठाउँमा भन्दा सुरक्षीत रहेको साबित भएको देशव्यापी सन्देश गएको छ ।

स्कुलडाँडामा उडानस्थलको प्राथमिक पूर्वाधार मुनस्टार क्लबले तयार गरेको हो । अवतरण स्थलको प्रारम्भिक पूर्वाधार निर्माणमा नगरपालिकाले १ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।



नोट: यो पेज फेरी पनि भ्रमण गर्नुहोला । स्वर्ण महोत्सव सम्बन्धी अन्य जानकारीहरु क्रमश: अद्यावधिक (Update) गर्दै लानेछौ । 

No comments:

Post a Comment