Sunday, March 27, 2011

धरान पहिलो खुल्ला दिशा मुक्त (ODF) नगर घोषित


यही मिति 2067 चैत्र 9 गते बुधवारका दिन नेपालका 58 नगरपालिका मध्ये धरान नगरपालिकाले पहिलो खुल्ला दिशा मुक्त (Open Defecation Free  - ODF) नगरपालिका घोषणा गरेको छ ।  धरानका स्थानीय संघसंस्था, राजनीतिक दल, विभिन्न क्षेत्रका प्रतिनिधि सहितको र्‍यालीले नौमती बाजा सहित नगर परिक्रमा गरेर धरान नगरपालिका कार्यालय परिसरमा आयोजित औपचारिक घोषणा सभा कार्यक्रममा खुल्ला दिशा मुक्त पहिलो नगर घोषणा गरिएको थियो ।

धरान नगरपालिकाका प्रमुख एवं‌ कार्यकारी अधिकृत टीकादत्त राईको सभापतित्वमा सम्पन्न भएको घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि सुनसरी क्षेत्र 1 का सभासद् माननीय किरणकुमार राई, विशेष अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया,  स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराई, यूनिसेफ प्रतिनिधि नमस्तेलाल श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय प्रतिनिधि, धरान नगरपालिका संचालन दलीय संयन्त्रका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

धरान नगरपालिकाले 2064 सालमा नगरलाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउने अभियानको घोषणा गरी सन् 2009 देखि अभियानको रूपमा सरोकारवाला विभिन्न निकायहरू समेतको सहयोगमा निःशुल्क शौचालय निर्माण सामाग्रीहरूको वितरण, शौचालय निर्माणका लागि आर्थिक सहयोग, टोल तथा समुदायमा शौचालय सरसफाइ र स्वास्थ्यमा यसको महत्त्वका बारेमा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

नगरलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि एक घर एक शौचालय, खुल्ला ठाउँमा दिशा पिसाब नगरिएको, शौचालयको उचित प्रयोग र सरसफाइ भएको, शौचालयको नियमित मर्मत सम्भार भएको, शौचालयको प्रयोग पश्चात् हात धुने बानीको विकास भएको लगायतको मापदण्डहरू पुरा गरे पछि मात्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न पाईने प्रावधान रहेको छ ।

एक घर एक चर्पी को अवधारणा अनुरूप प्रत्येक घरमा चर्पी निर्माण र सोको प्रयोगको माध्यमबाट नगरवासीको स्वास्थ्य स्तर वृद्धि गर्ने यसको मुख्य उद्देश्य रहको छ ।

धरान नगरपालिकाको खुल्ला दिशा मुक्त नगरपालिका घोषणाले सन् 2017 सम्ममा नेपाललाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकारले प्रतिबद्धतालाई सघाउ पुगेको छ ।

No comments:

Post a Comment