Tuesday, June 14, 2011

सार्वजनिक सुनुवाई सम्पन्न



धरान नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ सुनसरीको संयोजनमा सुनसरीका प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलियाको प्रमुख आतिथ्यमा यही मिति 2068 जेष्ठ 22 गते आइतवारका दिन धरान नगरपालिकाको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नगरवासीहरुबाट विभिन्न विषयहरूमा जिज्ञासा, माग तथा सुझावहरू राखिएको थियो भने नगरपालिका संचालन दलीय संयन्त्रका प्रतिनिधि, कार्यकारी अधिकृत तथा शाखा प्रमुखहरूबाट उक्त जिज्ञासा तथा सुझावहरूलाई सम्बोधन गर्ने कार्य भएको थियो । साथै कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख राममणि पोख्रेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख लगायतले आ–आफ्ना विषयमा धरानबासीले उठाएका प्रश्नको उत्तर दिएका थिए भने पत्रकार महेश श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित नगरवासीले खास गरी नगरपालिकाले लिएको सम्पत्तिकरका विषयमा धेरै जिज्ञासा राखेका थिए भने धरान प्रवेशद्वारा बनाइनुपर्ने, घर बहाल करलाई व्यवस्थित गर्नुपर्ने, जन स्वास्थ्य कार्यालयलाई व्यवस्थित गर्नुपर्ने विषयहरूमा सुझावहरू प्राप्त भएको थियो ।

त्यस्तै नगरपालिकाले गरेका काम र योजनाहरू चुस्त दुरुस्त र पारदर्शी रूपमा धरानवासीले थाहा पाउनुपर्ने, नगरपालिकाले आफ्नो बजेट विवरण तथा क्रियाकलापहरूको जानकारीमा जनताको सजिलो पहुँच पुर्‍याउनु पर्ने, नगरपालिकाले कार्य योजना बनाई कार्यक्रमहरू गर्नु पर्ने, सेवाग्राहीलाई प्रदान गरिने सेवा सुविधाको स्तर बढाउनु पर्ने, एकीकृत सम्पत्तिकर पुन:मूल्याङ्कन गरी समयानुकूल सबैले तिर्न सक्ने बनाउनुपर्ने, नगरपालिका विकृति तथा बिसंगति हटाउनु पर्ने मागहरू समेत राखिएको थियो ।

No comments:

Post a Comment