धरान उप-महानगरपालिका क्षमता विकास योजना (Capacity Development Plan 2071-072) अन्तर्गतका योजनाहरू मध्ये घरधनीहरुलाई भवन संहिता सम्वन्धी अनुशिक्षण दिने कार्यक्रम समुदायको क्षमता विकास तथा नगरपालिकाको संस्थागत क्षमता विकास अन्तर्गतको कार्यक्रम हो । नयाँ घर निर्माणको लागि स्वीकृत पाएका घरधनीहरूलाई मासिक तथा त्रैमासिक रूपमा भवन संहिता तथा भूकम्प प्रतिरोधी भवन निर्माण विषयमा नियमित अनुशिक्षण गर्ने धरान उप-महानरपालिकाको नितिगत वार्षिक कार्यक्रम भित्रको कार्यक्रम हो । यसै कार्यक्रम अन्तर्गत यही मिति २०७१/१२/१९ गते विहिवार धरान उप-महानगरपालिकामा एक दिने भूकम्प प्रतिरोधी घर निर्माणका लागि घरधनीहरूको लागि भवन संहिता सम्बन्धी अनुशिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको छ ।
उक्त एक दिने अनुशिक्षण कार्यक्रममा सहजकर्ताको रूपमा धरान उप-महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, इन्जिनियर तथा आयोजना व्यवस्थापक -एकीकृत शहरी विकास परियोजना_ राजु पोखरेल तथा घर नक्शा उपशाखाका खरिदार हरी बहादुर कार्कीबाट गरिएको थियो । कार्यक्रममा सहजकर्ताहरु द्वारा सरकार तथा धरान उप-महानगरपालिकाको राष्ट्रिय भवन आचार संहिताको विषयमा नगरपालिकाले अवलम्बन गरेको नीति तथा कार्यक्रम यस नीतिको आवश्यकता तथा महत्व तथा यसको दीर्घकालीन राम्रा असरको बारेमा साथै भूकम्प प्रतिरोधी भवन निर्माणको लागि सामान्य भाषामा प्राविधिक ज्ञान समेत छलफल तथा अन्तर्कृया गरिएको थियो । कार्यक्रमका सहभागीको रूपमा धरान उप-महानगरपालिका क्षेत्रका विभिन्न वार्डबाट घर निर्माणका लागि स्वीकृत प्राप्त गर्नु भएका ३० घरधनीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य नेपाल सरकारले २०६० सालमा ल्याएको भवन आचार संहिता र त्यस नियमलाई धरान उप-महानगरपालिकाले २०६४ साल देखि अवलम्बन गरेको नीति गत निर्णयको विषयमा सहभागीहरूलाई जानकारी गराउन तथा सोही अनुरूप यस नगरपालिकाले अवलम्बन गरेको नीति तथा कार्यक्रम जनमानस सम्म पुर्याउनको लागि विगत देखिनै धरान उप-महानगरपालिकाले विभिन्न सरोकारवाला संस्थाहरूसँग समन्वय तथा सहकार्य गरी ठेकेदार तथा मिस्त्री दुवैलाई तालिम प्रदान गर्ने तालिम प्राप्त ठेकेदारलाई मात्र घरधनीसँग काम गर्नको लागि सम्झौता गर्न लगाउने तथा घरधनीहरूलाई भवन संहिता तथा भूकम्प प्रतिरोधी भवन निर्माणको लागि जन-चेतना मूलक कार्यक्रम तथा गोष्ठी गर्ने काम नियमित रूपमा गर्दै आइरहेको छ । यस एक दिने अनुशिक्षण कार्यक्रम यसै अन्तर्गतको कार्यक्रम हो । धरान नगर क्षेत्रमा २०४५ सालमा गएको भूकम्पले निकै ठूलो विनाश तथा जन धनको नर संहार गरेको ले धरान नगरमा भूकम्प प्रतिरोधी घर निर्माणको लागि सरोकारवाला संघ-संस्था तथा आम नागरिकहरू समेत निकै सकारात्मक तथा जागरूक देखिएका छन् । जसको कारण भवन आचार संहिता सफलता पूर्वक लागू गर्नमा धरान उप-महानगरपालिका अग्र स्थानमा पर्दछ ।
No comments:
Post a Comment