Sunday, September 2, 2012

आर्थिक वर्ष 2068/69 को वार्षिक समीक्षा एवं आय-व्यय सार्वजनिक कार्यक्रम सम्पन्न


यही मिति भाद्र १४ गते बिहीवारका दिन भव्य कार्यक्रमका बीच धरान नगरपालिकाको आर्थिक वर्ष 2068/69 को वार्षिक समीक्षा एवं आय-व्यय सार्वजनिक कार्यक्रम धरान नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । धरान नगरपालिकाका कार्यकारी अधिकृत एवं प्रमुख भोजराज खतिवडाले आय-व्यय एवं वार्षिक प्रगति प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नगरपालिका कर्मचारीहरू तथा  पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रतिनिधिहरूबाट प्रस्तुतिका बारेमा आ-आफ्नो धारणा प्रस्तुति गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा कार्यकारी अधिकृत भोजराज खतिवडाबाट जनप्रतिनिधि नभएको अवस्थामा कर्मचारीबाट मात्र कार्यालय सञ्चालनमा कठिनाइ रहेको, देखाइएका कमी कमजोरीहरूलाई सच्याउँदै आएका सल्लाह सुझावलाई कार्यान्वयन गर्दै लगिने राय व्यक्त गर्दै कार्यक्रममा उपस्थितिका लागि सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

नगरस्तरीय समीक्षाको निचोड
  • सार्वजनिक निर्माणका सम्बन्धमा सडक तथा ढल निर्माणको योजनाहरूको मात्र वर्चस्व देखिएकोले नगरको दीर्घकालीन विकास हुने किसिमका योजनाहरू बजेटमा पर्नु पर्ने ।
  • दीर्घकालीन सोच अनुसारको प्रगति हासिल गर्न पर्याप्त कार्य गर्नु पर्ने।
  • उपलब्धि खर्चको अनुपात नहेरी योजनाहरू छनौट तथा सञ्चालन गर्ने गरेको देखिएकोले  विशेष ध्यान दिनु पर्ने ।
  • पूर्वाधार निर्माणलाई आर्थिक तथा सामाजिक विकाससँग जोडेर हेरिनु पर्ने।
  • नतिजा मूलक योजनाहरू छनौट तथा कार्यान्वयन गर्नु पर्ने ।
  • आवधिक योजना मुताबिक योजनाहरू छनौट गर्नु पर्ने।
  • घाटा बजेटका कारण लक्ष्यभन्दा यथार्थ उपलब्धि कम देखिने भएकोले यथार्थ बजेट बनाउनु पर्ने ।
  • नगरपालिकाको दैनिक सेवा प्रवाहमा सुधार गर्नु पर्ने ।
  • नगरपालिकाको आन्तरिक आय वृद्धिमा (विशेष गरी बहाल करमा) विशेष ध्यान दिनु पर्ने ।
  • कार्यक्रम तथा योजनाहरूको अनुगमन बढाउनु पर्ने ।
  • भौतिक विकासमा मात्र नभई मानवीय विकासमा समेत ध्यान दिनु पर्ने ।

No comments:

Post a Comment