Saturday, October 6, 2012

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सूची प्रमाणीकरण कार्यक्रम सम्पन्न


सामाजिक भत्ता पाउने अधिकार हो तसर्थ कोही नछुटुन, गलत व्यक्ति नपरुन भन्ने नाराका साथ यही मिति 2069 असोज 20 गते धरान नगरका 19 वटै वडाहरूमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सूची प्रमाणीकरण कार्य सम्पन्न भएको छ । कार्यक्रम सम्बन्धित वडा समितिको कार्यालयमा बिहान 10 बजे देखि बेलुकी 5 सम्म सञ्चालन भएको थियो भने धरानमा रहेका हजारौं भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले कार्ड र नागरिकता सहित वडा समितिमा आएर सूची अद्यावधिक गरेका थिए ।

धरान नगर क्षेत्र भित्र रहेका सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता पाउने लाभग्राहीहरुको  नाम सूचीको सत्य तथ्यता जाँच गर्न, सूची अद्यावधिक गर्ने कार्यमा भएका त्रुटिहरू पहिचान गरी सच्याउने र सरकारले प्रदान गरेको यस सुविधाका बारेमा आम जनसमुदायमा थप प्रभावकारी रूपमा जानकारी फिँजाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।

सम्बन्धित वडा समितिका वडा सचिव, धरान नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविका, धरान नगरपालिकाका कर्मचारीहरू खटिएको उक्त कार्यक्रममा धरान नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भोजराज खतिवडा तथा राजनीतिक दलका तर्फबाट कार्यक्रम स्थलहरू अनुगमन निरीक्षण गरिएको थियो ।

हाल बैक मार्फत सामाजिक सुरक्षा कार्यक्रमको भत्ता वितरण गर्ने सरकारको नीति अनुरूप धरान नगरपालिकामा पनि राष्ट्रिय वाणिज्य बैक मार्फत भत्ता वितरणको सुरुवात भएकोमा 2068/069 को आषाढ महिनामा अन्तिम किस्ता वैंक मार्फत जम्मा भत्ता प्राप्त गर्ने 5187 जनमा 4454 जनाले मात्र भत्ता बुझेको छन् । हाल जेष्‍ठ नागरिक, एकल महिला, जेष्‍ठ दलित, एकल महिला विधवाले मासिक रु 500 भत्ता प्राप्त गर्दछन भने पूर्ण अपाङ्गले मासिक रु.1000 प्राप्त गर्दछन ।

नेपाल सरकारले 2052 देखि जेष्‍ठ नागरिकहरूको लागी मासिक रूपमा केही रकम उपलब्ध गराई सम्मान गर्ने उद्देश्यले सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात भएको हो । शुरुमा 75 वर्ष उमेर पुगेका जेष्‍ठ नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइन्थ्यो भने पछि जेष्‍ठ नागरिक, एकल महिला भनी २ क्षेत्रमा विभाजन गरियो भने पछि पुनः नीति परिवर्तन गरी निर्देशिकामा भत्ता पाउन योग्य उमेर जेष्‍ठ नागरिक = 70 वर्ष, दलित जेष्‍ठ = 60 वर्ष र एकल महिला = 60 वर्ष निर्धारण गरियो । र पछिल्लो समयमा शारीरिक रूपमा सशक्त अपाङ्ग व्यक्तिहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरी भत्ताको व्यवस्था गरियो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई २ भागमा विभाजन गरिएको छ : (क) पूर्ण अपाङ्ग र (ख) आंशिक अपाङ्ग । तर धरान नगरपालिकामा पूर्ण अपाङ्ग भएका व्यक्तिहरूलाई मात्र जिल्ला विकास समिति - सुनसरी बाट भत्ता उपलब्ध गराउँदै आइरहेको छ । एकल महिलालाई ३ भागमा विभाजन गरिएको छ- (क) विवाहित श्रीमान्‍ को मृत्यु भएको (ख) विवाह नगरी ६० वर्ष उमेर पुगेका महिला र (ग) सम्बन्ध विच्छेद गरी ६० वर्ष उमेर पुगेका महिलाहरू । साथै 2067 साल देखी 60 वर्ष मुनिका विधवा महिलाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने नीति अवलम्बन गरी 2068 सालमा एकल महिला विधवा भनि भत्ता उपलब्ध गराउँदै आइरहेको छ ।

1 comment: