Tuesday, September 9, 2014

स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन विषयक २ दिने तालिम कार्यक्रम सम्पन्न




धरान नगरपालिका, सिम-नेपाल आयोजना र वी.पी.को.स्वा.वि. प्रतिष्ठानको सहकार्यमा स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन विषयक २ दिने तालिम कार्यक्रम (2 Day Training on Health Care Waste Management)  मिति २०७१/०५/२३ र २४ गते वी.पी.को.स्वा.वि. प्रतिष्ठानमा सम्पन्न भएको छ ।

तालिम कार्यक्रममा सहभागीको रूपमा वी.पी.को.स्वा.वि. प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरू, धरान नगरपालिकाका क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू, पूर्वाञ्चलमा रहेका विभिन्न नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरू समेत गरी जम्मा ६० जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा सहजिकरणको लागि मुख्य स्रोत व्यक्तिको रूपमा ग्रिन कन्सल्ट प्रा.लि. काठमाडौंबाट सहजकर्ताद्व्य दिनेश प्रसाद भट्ट र रवि भट्टराई रहनु भएको  थियो भने सिम-नेपाल आयोजनाका पेशागत स्वास्थ्य सुरक्षा विज्ञ युवराज भट्टले पेशागत स्वास्थ्य सुरक्षा विषयमा प्रस्तुति गर्नु भएको थियो ।

हाल नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूले उत्पादन गर्ने फोहरहरू वैज्ञानिक तथा वातावरणमैत्री किसिमले व्यवस्थापन नगर्दा मानवीय स्वास्थ्य साथै वातावरणमा प्रतिकूल असर परिरहेको र सो अवस्थामा सुधार नगरिए जुनसुकै बेला अकल्पनीय विपत् आउन सक्ने देखिन्छ । तसर्थ स्वास्थ्य संस्थाजन्य फोहरको जोखिम न्युनिकरण गर्दै धरान नगरपालिका क्षेत्रलाई स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थित नगरको रूपमा विकास गरी नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप मुख्य सरोकारवालाहरूको सहभागितामा आपसी समझदारी साथै समन्वय बढाउन उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

तालिम कार्यक्रम पश्चात् प्रतिष्ठानको कुनै एक वार्ड लाई स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा मोडेल वार्ड को रूपमा विकास गरी क्रमस अन्य वार्डहरू साथै पुरै अस्पताल र नगर क्षेत्रभित्र रहेका अन्य स्वास्थ्य संस्थाहरूको फोहर व्यवस्थापन प्रकृयालाई पनि व्यवस्थित गर्दै जाने र पुरा नगरलाई स्वास्थ्य संस्थाजन्य फोहरको अव्यवस्थित व्यवस्थापनको कारण उत्पन्न जोखिमबाट मुक्त गर्ने योजना रहेको छ ।

No comments:

Post a Comment